नियम १४
दलाल मार्फत ऋणपत्रको दोस्रो बजार कारोबार
(१) नियम १२ बमोजिम सूचीकृत भएको ऋणपत्र दलाल मार्फत दोस्रो बजार कारोबार गर्न चाहने ग्राहकले धितोपत्र बोर्डले तोकेको ढाँचामा दोस्रो बजार कारोबार गर्न दलाललाई आदेश दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दिइएको आदेशमा ग्राहकले आफूले दोस्रो बजार कारोबार गर्न चाहेको ऋणपत्रको नाम, किसिम, संख्या, रकम, मूल्य र त्यस्तो आदेश वहाल रहने अवधि समेत खलाउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम मूल्य खुलाउँदा ग्राहकले देहाय बमोजिम ऋणपत्रको मूल्य खुलाउन सक्नेछः–
(क) निश्चित मूल्य,
(ख) न्यूनतम वा अधिकतम मूल्य, वा
(ग) धितोपत्र बजारको स्थिति हेरी दलालले तोक्ने सक्ने मूल्य ।
(४) उपनियम (२) बमोजिम ग्राहकले दिएको आदेशमा निजले तोकेको समयसम्म वहाल रहने छ र अवधि नतोकिएकोमा आदेश दिएको मितिले तीन दिनसम्म वहाल रहनेछ ।
(५) उपनियम (१) बमोजिम आदेश दिंदा ग्राहकले जति मूल्यको ऋणपत्र बिक्री गर्न चाहेको हो त्यति नै मूल्यको ऋणपत्रको प्रमाणपत्र दलाललाई बुझाउनु पर्नेछ ।
(६) उपनियम (५) बमोजिम दलालले ग्राहकबाट ऋणपत्रको प्रमाणपत्र बुझी लिए पछि सोको निस्सा ग्राहकलाई दिनु पर्नेछ ।
(७) दलालले ऋणपत्रको दोस्रो बजार कारोबार गर्दा नियम २१ को उपनियम ( १) बमोजिम राखिएको अभिलेखमा उल्लिखित समयको प्राथमिकताको आधारमा कारोबार गर्नु पर्नेछ ।
(८) दलालले ऋणपत्र कारोबार गर्दा एकसय रुपैयाँ अङ्कित मूल्यको आधारमा मूल्य तोकी कारोबार गर्नु पर्नेछ ।
(९) दलालले ऋणपत्रको दोस्रो बजार कारोबार गर्दा मौखिक रुपमा लिएँ वा दिएँ भनी आफ्नो मौखिक स्वीकृति जनाई सकेपछि धितोपत्र बोर्डले तोकेको ढाँचामा फाराम भरी दस्तखत गरी खरिदकर्ता दलाल र बिक्रेता दलालले एक आपसमा लिने दिने गर्नु पर्नेछ र सोको एक एक प्रति धितोपत्र बजारमा तुरुन्त बुझाउनु पर्नेछ ।
(१०) उपनियम (९) बमोजिम ऋणपत्रको दोस्रो बजार कारोबार गर्न स्वीकृति जनाई दस्तखत गरे पछि दलालले त्यस्तो ऋणपत्रको दोस्रो बजार कारोबार गर्न अस्वीकार गर्न पाउने छैन ।
(११) उपनियम (९) बमोजिम ऋणपत्रको कारोबार सम्पन्न गरिसकेपछि दलालले ग्राहकलाई धितोपत्र बोर्डले तोके बमोजिमको ढाँचामा फाराम भरी सोको जानकारी दिनु पर्नेछ । ग्राहकले ऋणपत्र खरिद गरेको भए दलालले धितोपत्र बोर्डले तोके बमोजिमको ढाँचामा खरिद निस्सा समेत ग्राहकलाई दिनु पर्नेछ ।
(१२) उपनियम (११) बमोजिमको खरिद निस्सा ऋणपत्रकै रुपमा कारोबार योग्य हुनेछ ।
(१३) उपनियम (१२) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपनियम (११) बमोजिमको खरिद निस्सा सम्बन्धित दलाल र धितोपत्र बजारमा अभिलेख गराए पछि मात्र कारोबार गर्न सकिनेछ ।
(१४) ग्राहकको आदेश नभएको अवस्थामा दलालले धितोपत्र बोर्डले तोकेको सीमामा ननाघ्ने गरी आफ्नो स्वामित्वको ऋणपत्र दोस्रो बजार कारोबार गर्न सक्नेछ ।